डा. महतको पहल : कांग्रेसभित्र एकता र संगठन सुदृढीकरणको नयाँ बाटो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधि चिर्दै संगठनलाई सबल बनाउन सक्रिय भएका छन्।

काठमाडौं उपत्यकाका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरेका महतले यसअघि नेपाल विद्यार्थी संघका पूर्वपदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी तथा विभिन्न तहका नेताहरूसँग पनि निरन्तर संवाद गरिरहेका छन्। हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोष सम्बोधन गर्ने उद्देश्यले यी छलफल अघि बढाइएको बताइएको छ।

छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले घाइते पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य लाभको कामना गर्दै कांग्रेसलाई अनुशासन, एकता र सहकार्यतर्फ उन्मुख बनाउनुपर्ने धारणा राखेका थिए।

नेताहरुलाई सम्बोधन गर्दै डा. महतले भने, ‘पार्टीलाई केन्द्रदेखि गाउँसम्म सबल संरचना बनाउन सके लोकतान्त्रिक आन्दोलन अझ सशक्त हुन्छ। गुटगत गतिविधि र असन्तुष्टिपूर्ण हस्ताक्षर अभियानले पार्टीलाई कमजोर बनाउँछ, त्यसलाई निरुत्साहित गर्नुपर्छ।’

यसैबीच, दशैंलगत्तै सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाउने तयारीबारे छलफलमा बहस भएको छ। उक्त बैठकबाट संगठन विस्तार, असन्तुष्टि व्यवस्थापन र नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नेताहरूले कांग्रेसलाई पुनः लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा उभ्याउन महत्त्वपूर्ण निर्णय आवश्यक रहेको बताएका छन्।

राजनीतिक विश्लेषकहरूको मूल्याङ्कनमा, डा. महतको सक्रियता केवल औपचारिकता नभई ‘पार्टी एकता अभियान’को पहिलो चरण हो। उनका अनुसार, यो पहल कांग्रेसलाई असन्तुष्टिबाट उकास्दै संगठनात्मक एकता र लोकतान्त्रिक आन्दोलनमा निर्णायक मोड दिने सम्भावित टर्निङ प्वाइन्ट बन्न सक्छ।

डा. महतले आगामी दिनमा प्रदेश र जिल्ला तहमा पुगेर यस्तै प्रकृतिका छलफल गर्ने तयारीसमेत गरिरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *