नेपाल चीन सहकार्यमा नयाँ पाटो : मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा राजदूत सोङले नवनियुक्त मन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । त्यस अवसरमा नेपाल चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजना, लगानी र निर्माण प्रगतिसम्बन्धी विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री घिसिङले काठमाडौं कोदारी (अरनिको राजमार्ग) र स्याप्रुबेंसी रसुवागढी सडकलाई दुवै देशलाई जोड्ने महत्वपूर्ण र संवेदनशील मार्ग भन्दै पहिरो तथा भौगोलिक कठिनाइका कारण जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरे । उनले आधुनिक चिनियाँ प्रविधि प्रयोग गरी ती सडकको दिगो मर्मत र स्थायी सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।
यस्तै उनले चिनियाँ अनुदानमा निर्माण हुन लागेको काठमाडौं उपत्यकाको चक्रपथ विस्तारअन्तर्गत कलङ्की बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न जोड दिए । साथै अरुण करिडोरमा जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको र नेपालको विद्युत् बजारलाई अझ प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन अघि बढाउनुपर्नेमा जोड दिए ।
मन्त्री घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएको कमला कञ्चनपुर आयोजनाको निर्माण असन्तोषजनक नरहेको भन्दै सुधारका लागि पहल गर्न आग्रह गरे । उनले नारायणघाट बुटवल र मुग्लिन पोखरा सडक विस्तारको कामलाई गतिशील बनाउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि अनुरोध गरे ।
जवाफमा राजदूत सोङले चीन नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा निरन्तर सहयोग गर्न तयार रहेको आश्वासन दिए ।
भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एशिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतको सहभागिता थियो ।
Facebook Comment