स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, सेवासुरु गर्न सकिने अवस्था

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनीबाट भवन र सामग्रीमा ठूलो क्षति भए पनि स्मार्ट लाइसेन्ससम्बन्धी डेटा भने सुरक्षित रहेको विभागका कर्मचारीहरूले बताएका छन् । उनका अनुसार ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवाप्रवाह पुनः सुरु गर्न सकिने अवस्था छ ।

भदौ २३ र २४ गते चर्किएको आन्दोलनका क्रममा संसद् भवनभन्दा पूर्वतर्फ रहेको उक्त कार्यालयमा आगजनी भएको थियो । आगलागीबाट इम्बोस्ड नम्बरका सम्पूर्ण डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन तथा छापिसकिएका १२ लाख थान स्मार्ट लाइसेन्समध्ये करिब ६ लाख थान नष्ट भएका थिए । तर वितरणका लागि तयार अवस्थामा रहेका बाँकी ६ लाख थान स्मार्ट लाइसेन्स भने सुरक्षित रहेको पाइएको छ ।

शुक्रबार बिहान विभाग परिसरमा आयोजित सरसफाइ कार्यक्रममा सहभागी भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई कर्मचारीहरूले डेटा रिकभर गर्न सकिने अवस्था रहेको जानकारी दिएका हुन् ।

सो अवसरमा मन्त्री घिसिङले अत्यावश्यक प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर लाइसेन्स छाप्ने व्यवस्था मिलाइने बताए ।
‘राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनमार्फत पनि स्मार्ट लाइसेन्स छाप्न सकिन्छ भन्ने कुरा आएको छ,’ मन्त्री घिसिङले भने, ‘विदेश जानेलाई तत्काल लाइसेन्स आवश्यक परेमा सोही विभागसँग समन्वय गरेर सुविधा उपलब्ध गराइनेछ ।’

यातायात व्यवस्था विभागका अनुसार अझै करिब २५ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी छ । त्यसका लागि आवश्यक सामग्री खरिद गर्न छिट्टै टेन्डर आह्वान गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *