जनभावनाविपरीत रहन नमिल्ने निष्कर्ष: सभामुख पाठकको पदत्याग
काठमाडौं । बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्।
बुधबार उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम उनले राजीनामा पत्र बुझाएका हुन्। यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका भए पनि आधिकारिक पत्र भने पेस गरेका थिएनन्।
पाठकले बुझाएको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभा सचिवालयलाई समेत पठाइएको छ। यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ र नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्ने भएको छ।
जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाले ज्यान गुमाउनुपरेको घटना आफ्नो लागि गहिरो भावनात्मक आघात भएको उल्लेख गर्दै पाठकले पदत्याग गरेको जनाएका छन्। जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन उचित नठानेर राजीनामा दिने निर्णयमा पुगेको उनको भनाइ छ।
२०७९ पुस २८ गते भएको सभामुख निर्वाचनमा पाठक ६२ मतसहित विजयी भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवारी दिएका उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन गरेका थिए।
Facebook Comment