कारागार र बालसुधार गृहमा झडप, सुरक्षाकर्मीको गोलीले १० कैदीबन्दीको मृत्यु

काठमाडौं । २४ भदौ राति बाँकेको नौबस्तास्थित बालसुधार गृहमा रहेका बालबन्दी भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो। सो क्रममा पाँच जनाको मृत्यु भयो भने दुई जना घाइते भए। घाइतेहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार झडपका क्रममा पाँच जनाको मृत्यु भएको हो। तर अभिभावकहरूले सजाय भुक्तान गरिरहेका आफ्ना सन्तानलाई प्रहरीले अनाहकमा मारेको आरोप लगाएका छन्।

मृत्यु हुनेमा अछामका २१ वर्षीय उमेश बिष्ट, दाङका २० वर्षीय विनेश घर्ती मगर, बाँके खजुराका २० वर्षीय समीर थापा, कैलालीका १९ वर्षीय जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री रहेका छन्। पाँचै जना जबर्जस्ती करणी मुद्दामा बालसुधार गृह पुगेका थिए।

बाँकेको खजुरा गाउँपालिका–१ का समीर जिल्ला अदालतको फैसलापछि गत १० वैशाखमा सुधार गृह आएका थिए। अछाम रामारोशन–४ का उमेशलाई अछाम जिल्ला अदालतले ९ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना तोकेको थियो। उनी १ मंसिर २०७६ मा सुधार गृह आएका थिए र ३ वर्ष १ महिना कैद बाँकी थियो।

कैलाली लम्कीचुहा–६ का १९ वर्षीय जगत देउवालाई ७ वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना तोकिएको थियो। उनी २४ फागुन २०८० मा सुधार गृह आएका थिए। दैलेख महाबु–२ का भूपेन्द्र खत्रीलाई ८ वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना सुनाइएको थियो। उनी २४ असार २०८१ मा सुधार गृह आएका थिए र ६ वर्ष १० महिना कैद बाँकी थियो।

दाङ घोराही–१३ का २० वर्षीय विनेश घर्ती मगर जबर्जस्ती करणी मुद्दामा सजाय पाई २ पुस २०८० मा सुधार गृह प्रवेश गरेका थिए। सुधार गृहका प्रमुख श्यामबहादुर रानाका अनुसार कैदीबन्दीहरूले सुरुमा होहल्ला गर्दै पर्खाल र गेट फोड्न खोजेपछि झडप भएको हो।
“सुरुमा होहल्ला गर्दै गेट तोडेका थिए। त्यसपछि प्रहरी र सशस्त्र प्रहरी मात्र भित्र पस्न सक्ने अवस्था भयो। झडपलाई नियन्त्रण गर्ने क्रममा कैदी भागेका थिए,” प्रमुख रानाले बताए।

बालसुधार गृहमा रहेका १ सय ७६ मध्ये ७८ जना भागेका थिए। हालसम्म २० जना नियन्त्रणमा आइसकेका छन् भने ५८ जना अझै फरार छन्।

रामेछापमा तीनको मृत्यु

२६ भदौ बिहीबार बिहान रामेछापमा जिल्ला कारागार तोडफोड गरी भाग्न खोज्ने कैदीबन्दीमाथि सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु भयो। मृतकमध्ये मोरङ विराटनगर–५ का ५१ वर्षीय राजकिशोर यादव र धनुषाका ५८ वर्षीय बिकरु धोबीको घटनास्थलमै मृत्यु भएको थियो। मानव बेचबिखन मुद्दामा सजाय काटिरहेका धनुषा जनकपुरधाम–१२ का मनोज महतोको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भयो।

धादिङमा दुईको मृत्यु

२५ भदौमा धादिङ कारागारमा कैदीबन्दीले गेट तोडेर भाग्न खोज्दा सेनाले रोक्ने प्रयास गरेको थियो। पानीको फोहरा प्रयोग गरे पनि नियन्त्रणमा नआएपछि चलाइएको गोली लागी दुई जनाको मृत्यु भयो।

मृतकमा धादिङ बेनीघाट रोराङ–४ का ६७ वर्षीय जितबहादुर घले र पश्चिम नवलपरासी सुनवल नगरपालिका–१२ का ३८ वर्षीय इन्द्रबहादुर डाला रहेका छन्। घले जबर्जस्ती करणी मुद्दामा सजाय काटिरहेका थिए भने डाला लागूऔषध मुद्दामा पक्राउ परेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *