असोज १ देखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने
काठमाडौं । मनसुन सुरु भएयता रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालन हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्यतिर पुगेको अवस्था र आगामी दसैँ–तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै राजमार्ग निरन्तर सञ्चालन गर्ने निर्णय गरेको हो। यात्रुहरूलाई सहज बनाउन स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार सतर्कता अपनाई राजमार्ग सञ्चालनमा ल्याउने समितिले जनाएको छ।
कार्यालयका अनुसार गत असार पहिलो सातादेखि बाढी–पहिरोको उच्च जोखिमका कारण रातिको समयमा १२ घण्टासम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिनका लागि रोक लगाइए पनि भदौ मसान्तपछि असोज १ गतेदेखि पूर्ण रूपमा खोल्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न जोखिमयुक्त स्थानका कारण यसअघि यातायात सञ्चालनमा रोक लगाइएको थियो। काठमाडौँतर्फ जाने सवारीलाई काभ्रेभञ्ज्याङ र विपरीत दिशाबाट आउनेलाई सिन्धुलीको नेपाल थोकमा रोकिने व्यवस्था मिलाइएको थियो।
गत वर्ष असोजमा आएको बाढी–पहिरोले राजमार्गका काभ्रेपलाञ्चोक र सिन्धुली खण्डका दर्जनौँ स्थानमा ठूलो क्षति पुर्याएको थियो। विशेषगरी चौकीडाँडाबाट वर्षे खोलासम्मको सडक बगाउँदा सवारी आवागमन प्रभावित भएको थियो। अहिले क्षतिग्रस्त भागलाई चार खण्डमा विभाजन गरी स्थायी पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।
पूर्वी नेपाललाई छोटो दूरीमार्फत काठमाडौंसँग जोड्ने बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने भएकाले यसको निरन्तर सञ्चालनले यात्रुहरूलाई ठूलो सहजता पुग्ने भएको छ।
Facebook Comment