मनसुन सक्रिय : विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भारततिर अवस्थित रहेकाले नेपालमा अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको हो।
मंगलबार दिनभर देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी भू–भागका थोरै स्थानमा पनि वर्षा हुने सम्भावना छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।
मंगलबार राति पनि देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका स्थानमा नदी–नाला र खोल्सामा पानीको बहाव बढ्न सक्ने, पहिरो र बाढीको जोखिम समेत रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
Facebook Comment