भ्रष्टाचारमुक्त र शुसासनका पहलमा एमालेको पूर्ण सहयोग : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारलाई नेकपा एमालेको पूर्ण साथ र सहयोग रहने बताएका छन् ।
सोमबार आगजनीबाट क्षतिग्रस्त भएको एमाले मुख्यालयको निरीक्षणपछि पोखरेलले वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउँदा एमालेले पूर्ण सहयोग गर्ने बताए ।

उनले देशैभर क्षतिग्रस्त भएका पार्टी कार्यलयको पुनर्निर्माण सुरु गर्न कार्यकर्तालाई अपिल पनि गरेका छन् । पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणमा योगदान गर्न पार्टी पंक्तीलाई निर्देशन दिए ।

महासचिव पोखरेलले एमाले असोज ३ गते खरानीको थुप्रोबाट नै संविधान दिवस मनाउने बताउँदै त्यसका लागि जुट्न पनि निर्देशन दिए ।
उनले भने, ‘लामो संघर्षबाट २०७२ सालमा प्राप्त भएको संविधान दिवस असोज ३ गते पर्दछ । त्यो दिवस हामी खरानीकै थुप्रोबाट मनाउने छौँ । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ । काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा हुनेछ।’

सधैं सडकबाट निर्णय नहुने भएकोले सडकबाट प्राप्त उपलब्धीलाई संविधानमा संस्थागत गर्नुपर्ने उनले बताए ।

वर्तमान सरकार अन्तरिम भएकोले यसको मूल काम सुरक्षाको वातावरण बनाउने र समयमा नै निर्वाचन गराउनेमा केन्द्रित हुनेमा आफू विश्वस्त रहेको पोखरेलले बताए । उनले भने, ‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरु जनतामा गएर, जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौं।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *