जेनजी आन्दोलनका हिंसात्मक घटनामा छानबिन समिति बन्ने, राष्ट्रिय शोक घोषणा

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न विशेष समिति गठन हुने बताएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि पहिलो भनाइ दिंदै उनले आन्दोलनका नाममा भएका तोडफोड र आगजनीबारे सत्यतथ्य सार्वजनिक गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

गृहमन्त्री अर्यालले भने, ‘जेनजी आन्दोलनका नाममा देशभर व्यापक हिंसात्मक घटना भएका छन् । ती घटनाको यथार्थ उजागर गर्न समिति गठन गरिनेछ।’

उनले आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय सरकारले गरेको जानकारी दिए । सो अवसरमा राष्ट्रिय झण्डा आधा झुकाइने र मृतक परिवारलाई काजकिरिया खर्चका लागि प्रतिपरिवार एक–एक लाख रुपैयाँ सहयोग उपलब्ध गराइने पनि उनले बताए । साथै, मृतकको शव सम्बन्धित घरठेगानासम्म पुर्‍याउने व्यवस्था मिलाइने उल्लेख गरे ।

गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर फैलिएको जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको ज्यान गएको छ भने सयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालतसहितका महत्वपूर्ण संरचना र व्यापारी भवनमा आगजनी हुँदा ठूलो जनधनको क्षति भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *