प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहको बालुवाटारमा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सुदन गुरुङ नेतृत्वको हामी नेपाल समूहले सोमबार मध्यराति बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि नाराबाजी गरेको छ ।

मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले ‘प्रधानमन्त्री राजीनामा दे’ र ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारका सदस्य पनि प्रदर्शनमा सहभागी भएका थिए ।

नाराबाजीकै क्रममा प्रधानमन्त्री निवासको तेस्रो गेट अगाडि सुदन गुरुङले भने,
‘सबैभन्दा शक्तिशाली नेपाली जनता हो, कसैले रोक्न सक्दैन । जसलाई जहाँ राख्छौं, त्यहाँबाट हटाउन पनि सक्छौं ।’

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार ओमप्रकाश अर्याललाई गृह मन्त्री, रामेश्वर खनाललाई अर्थ मन्त्री र कुलमान घिसिङलाई ऊर्जा मन्त्री नियुक्त गरेकी थिइन् । यी नियुक्ति सार्वजनिक भएपछि गुरुङ समूहले आफूहरूसँग सल्लाह नगरी निर्णय गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

गुरुङले विशेषगरी गृह मन्त्री बनेका ओमप्रकाश अर्यालमाथि आक्रोश पोख्दै भने, ‘यो ओमप्रकाशलाई लिएर आफैं गृहमन्त्री बनाउँदो रहेछ त्यहाँभित्र बसेर।’

युवाहरूको आकस्मिक प्रदर्शनपछि प्रधानमन्त्री निवास वरिपरि सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *