दशैंका लागि राष्ट्र बैंकले सुरु गर्यो सुकिला नोट सटही, असोज १० गतेसम्म सुविधा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बडादशैंलाई लक्षित गरी सुकिला नोट साट्ने प्रक्रिया आइतबारदेखि सुरु गरेको छ । यो सुविधा असोज १० गतेसम्म उपलब्ध रहने बैंकले जनाएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नोट सटही थापाथलीस्थित केन्द्रीय कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेश कार्यालयहरूमा पनि हुने व्यवस्था गरिएको छ ।
त्यस्तै, क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि सर्वसाधारण तथा संघ–संस्थाले कारोबारको समयमा सुकिला नोट साट्न सक्नेछन् ।
बैंकले ५, १०, २०, ५० र १०० दरका नोटलाई प्रतिव्यक्ति अधिकतम १ सेट अर्थात् १८ हजार ५ सय रुपैयाँसम्म सटही गर्न सकिने जनाएको छ ।
आइतबार राजधानीको थापाथलीस्थित राष्ट्र बैंकमा सुकिला नोट साट्न सर्वसाधारणको उपस्थिति देखिएको थियो । तर देशको हालको परिस्थितिका कारण सहभागिता विगतको तुलनामा न्यून देखिएको थियो ।
Facebook Comment