प्रतिनिधि सभा विघटनपछि ३० विधेयक निष्क्रिय

काठमाडौं । प्रतिनिधि सभा विघटनसँगै संसद्‌मा दर्ता भएका ३० वटा विधेयक अधरमा परेका छन्।

विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार, प्रतिनिधि सभामा उत्पत्ति भएका २१ सरकारी र २ गैरसरकारीसहित २३ विधेयक निष्क्रिय भएका छन्। साथै, राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन रहेका थप ७ विधेयक पनि अब स्वतः असफल भएका हुन्।

२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको संसद्मा उत्पत्ति भएका २३ वटा विधेयकसमेत विघटनसँगै अन्त्य भएका छन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संविधानमा भएको प्रावधानअनुसार विधेयक स्वतः निष्क्रिय भएको स्पष्ट पारे। संविधानको धारा १११ को उपधारा (१०) ले प्रतिनिधि सभा विघटन वा कार्यकाल समाप्त भएपश्चात् त्यहाँ विचाराधीन रहेका वा पारित भएर राष्ट्रिय सभामा पुगेका विधेयक निष्क्रिय हुने व्यवस्था गरेको छ।

यसरी, नयाँ सरकार र संसद् गठन नहुँदासम्म मुलुकको कानुनी प्रक्रियामा महत्वपूर्ण मानिएका ३० विधेयक अलपत्र परेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *