जेनजी आन्दोलनमा मारिएका असहाब आलमको वीरगन्जमा अन्तिम संस्कार
काठमाडौं । काठमाडौंमा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको शनिबार अन्तिम दाहसंस्कार सम्पन्न गरिएको छ।
शुक्रबार राति काठमाडौंबाट आलमको शव गाउँ ल्याइएको थियो। शनिबार बिहान जनाजा (शवयात्रा) निकालेर मुर्ली पोखरी नजिकको कब्रस्तानमा मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। जनाजा तथा अत्येष्टिमा मुस्लिम समुदायसँगै हिन्दु धर्मावलम्बी पनि हजारौँको संख्यामा सहभागी भएका थिए।
दुई महिनाअघि मात्र वैवाहिक जीवनमा प्रवेश गरेका आलम मंगलबार काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मारिएका थिए। पठाओ राइडरका रूपमा यात्रु लिएर गोंगबुतर्फ जाँदै गर्दा प्रहरीले चलाएको गोली उनको पेट र छातीमा लागेको थियो।
सो दिन बिहानदेखि सम्पर्कविहीन भएका आलमको शव काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएको वीरगन्ज–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले जानकारी दिए।
ग्लोबल बिजनेस कलेज वीरगन्जबाट कक्षा १२ उत्तीर्ण गरेका आलम स्नातक अध्ययनका लागि काठमाडौं गएका थिए। अध्ययनसँगै उनी पठाओ राइडरको काम गर्दै आएका थिए।
Facebook Comment