नेपालको पहिलो महिला प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसंघको बधाई
काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकी छन्।
संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिका लागि नेपाली जनतालाई समेत बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ।
संयोजक हम्डीले, “यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ,” भन्ने उल्लेख गरेकी छन्।
विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल र नयाँ पुस्ताका युवा नेताहरूको योगदानको उच्च प्रशंसा गरिएको छ। परिवर्तनको क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
प्रधानमन्त्री कार्कीलाई संवेदनशील अवस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालेको भन्दै सफल कार्यकालको शुभेच्छा व्यक्त गरिएको छ। साथै, संयुक्त राष्ट्रसंघले नेपालको स्थायित्व, मानव अधिकार र दिगो विकासको यात्रामा सरकारसँग सहकार्य गर्दै अघि बढ्ने अठोट दोहोर्याएको छ।
Facebook Comment