जेनजी प्रदर्शनमा सडक र यातायात विभागका भवन जले, दमकलले आगो निभाउने प्रयास
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग र यातायात विभागका भवनमा जेन–जी प्रदर्शनका क्रममा आगजनी भएको छ। मङ्गलबार भएको आगलागी निभाउन दमकलको सहयोग जारी छ।
मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार, मन्त्रालयको मुख्य भवनमा ठूलो क्षति नभए पनि विभागीय भवनहरू जलेर नष्ट भएका छन्। “अहिले पनि आगो बलिरहेको छ। ललितपुर महानगरपालिकाको दमकलमार्फत आगो निभाउने प्रयास भइरहेको छ। भवनसँगै गाडीहरू पनि जलेका छन्। कति गाडी जले र भवनको क्षति कति भयो भन्ने विवरण आइसकेको छैन,” उनले बताए।
प्रवक्ता अधिकारीले क्षतिको पूर्ण विवरण छिट्टै सङ्कलन गरिने जानकारी दिएका छन्। सिंहदरबारका कलात्मक प्रशासनिक भवनहरू समेत आगलागीबाट खरानीमा परिणत भएका छन्। प्रदर्शनकारीहरूले सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, विशेष अदालत, शीतल निवास लगायत धेरै सरकारी संरचनामा आगजनी गरेका थिए।
सिंहदरबार पुगेका कर्मचारीहरूले जलेका भवनको सरसफाइ कार्य सुरु गरेका छन्। मुख्य सचिव एकनारायण अर्यालले आजै जलेका भवनको स्थलगत अवलोकन गरेका थिए। प्रदर्शनकारीहरूले सरकारी भवन र कार्यालयमा लगाएको क्षति अपूरणीय रहेको अनुमान गरिए पनि, क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ।
Facebook Comment