गजुरीबाट पक्राउ परेका ९७ फरार कैदीबन्दी नुवाकोट कारागारमा पठाइए

काठमाडौं । हालैको आन्दोलनका क्रममा केन्द्रीय कारागार, नक्खु, भद्र र भीमभेदी कारागारबाट फरार भएका ९७ जना कैदीबन्दीलाई प्रहरीले धादिङको गजुरीबाट नियन्त्रणमा लिएको छ।

धादिङ प्रहरीका एसपी भेषराज रिजालका अनुसार, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा ती सबै फरार बन्दीलाई नियन्त्रणमा लिएर नुवाकोट कारागार पठाइएको हो।

पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा गजुरीमा उनीहरू पक्राउ परेका थिए। नियन्त्रणमा लिएपछि उनीहरूलाई सुरक्षाका लागि गजुरीस्थित भैरव गणमा राखिएको र जिल्ला प्रशासन कार्यालय धादिङको रोहबरमा नुवाकोट कारागारमा पठाइएको प्रहरीले जनाएको छ।

एसपी रिजालका अनुसार, धादिङ कारागारबाट भने कैदी भागेको कुनै घटना नभएको स्पष्ट गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *