कोमल वलीको प्रश्न: “४० जनालाई रोजगारी दिएको होटल जलाएर के पायौ?”

काठमाडौं । जेनजी आन्दोलनका क्रममा एमाले नेतृ र गायिका कोमल वलीको दाङस्थित होटलमा आगजनी भएको छ। आगजनीको घटनापछि वलीले सामाजिक सञ्जालमार्फत जेनजीलाई प्रश्न गरेकी छन्, “गाउँकै ४० युवालाई रोजगारी दिएको होटल जलाएर के गर्‍यौ? ४० जनाको रोजगारी खोस्नु नै जेनजी क्रान्ति हो?”

वलीले सामाजिक सञ्जालमा थप लेखेकी छन्, “जेनजीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा गरिएको यस कार्य के साँच्चै आन्दोलनको हिस्सा हो? के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन-जीको क्रान्ति हो? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो? पानीको सेवा दिइरहेका इसर ट्रक र टाटा योद्धा गाडी जलाउँदा अलिकति पनि हात काँपेनन्।”

व्यवसायले बिस्तारै अघि बढिरहेको अवस्थामा नियतवश आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको आरोप वलीले लगाएकी छन्। उनले भनिन्, “मैले सधैं साथ दिएको उमेर समूह जेन-जीको आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरूलाई कहिल्यै भलो हुँदैन।”

साथै, जेन-जी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्। आन्दोलनमा निर्दोषले अनावश्यक रूपमा ज्यान गुमाउँदा आफ्नो छात्ति चिरिएको उल्लेख पनि उनले गरेकी छन्।

कोमल वलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको, उपचार खर्चका नाममा कुनै सुविधा नलिएको र आर्थिक प्रलोभनमा नपरेको स्पष्ट पारेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *