झापाको सीमाक्षेत्रमा सुन्धारा कारागारबाट फरार दुई कैदी पक्राउ
काठमाडौं। हालै कारागारबाट फरार भएका दुई जना कैदीबन्दी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन्।
लागूऔषध ओसारपसारमा दोषी ठहरिएकी गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीकी ५० वर्षीया अञ्जली खातुनलाई गएराति पक्राउ गरिएको हो। सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको संयुक्त टोलीले गौरीगञ्ज–५ मलाहा टोलमा भारततर्फ भाग्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो। खातुनलाई हाल इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ। उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंस्थित सुन्धारा कारागारबाट फरार भएकी थिइन्।
त्यस्तै, काठमाडौंको कारागारबाट भागेका मोरङ विराटनगर–३ का सुरज कामत पनि सीमाक्षेत्रमा पक्राउ परेका छन्। बुधवार राति करिब १० बजे भारत–नेपाल सीमामा पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
मोरङको आमवारी हुँदै ई–रिक्सा र पैदल भारत प्रवेश गरेका कामत लागूऔषधको अभियोगमा कैद सजाय भुक्तान गरिरहेका थिए। बिहीबार उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ।
Facebook Comment