जेन–जी आन्दोलनलाई कलाकारहरूको साथ : सपुत, थापा र कार्कीको ऐक्यबद्धता
काठमाडौं । राजधानीमा आज सोमबार हुने जेन–जी पुस्ताको प्रदर्शनलाई नेपाली कलाकारहरूले खुलेर समर्थन गरेका छन्।
लोकप्रिय गायक प्रकाश सपुतले आफ्नो फेसबुकमार्फत दुई जना युवा आन्दोलनकारी सुनिल र सचिनलाई जनही २५/२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिएका छन्। सपुतले युवाहरूलाई आन्दोलनमा सहभागी हुँदा पानी पिउन, संयमित रहन र लामो यात्राका क्रममा एकै पटकमा नथाक्न सुझाव दिँदै “आफ्नै नेतृत्वमा एकजुट भएर उभिन” आग्रह गरेका छन्। उनले नयाँ शैलीको आन्दोलनले नेताहरूलाई समयभन्दा धेरै पछाडि परेका छन् भन्ने अनुभूति गराउने विश्वास व्यक्त गर्दै सहभागीहरूलाई सुरक्षित रूपमा घर फर्किन पनि सन्देश दिएका छन्।
यस्तै, गायक तथा कलाकार दुर्गेश थापाले पनि सामाजिक सञ्जालमार्फत प्रदर्शनलाई समर्थन जनाएका छन्। उनले ‘जेन–जी’लाई केवल नाम नभई देशमा परिवर्तनको ब्रान्डका रूपमा प्रस्तुत गर्दै युवाको कदमलाई सकारात्मक ऊर्जा र ऐक्यबद्धता व्यक्त गरेका छन्।
नेपाली अभिनेत्री प्रियंका कार्कीले पनि आन्दोलनप्रति प्रशंसा प्रकट गर्दै सरकारसँग भ्रष्टाचारमुक्त प्रणाली र समान अवसर सुनिश्चित गर्न माग गरेकी छन्। उनले प्रदर्शनलाई नैतिक र शान्तिपूर्ण ढंगले अघि बढाउन आग्रह गर्दै, व्यक्तिगत नेतृत्वमा आधारित आन्दोलनमा अराजक तत्व प्रवेश गर्ने सम्भावनाप्रति सचेत रहन सहभागीहरूलाई सावधान गराएकी छन्।
यसअघि जेन–जी पुस्ताले देशमा मौलाएको भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा आन्दोलन घोषणा गरेको थियो।
Facebook Comment