न्हुः पोखरी अतिक्रमणमुक्त : ललितपुर महानगरले चलायो डोजर
काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित ऐतिहासिक न्हुः पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काइदिएको छ ।
आइतबार तीनवटा डोजर र नगर प्रहरी परिचालन गरी अवैध रूपमा बनेका संरचना भत्काइएको हो । महानगरले वडा नं. ५ अन्तर्गत लगनखेलमा पर्ने नेपाल सरकारको नाममा श्रेस्ता कायम कि नं. १०५ को करिब १७ रोपनी क्षेत्रफलमा रहेको जग्गामा संरचना हटाएको जनाएको छ । सो जग्गा परापूर्वकालदेखि पोखरीको रूपमा दर्ज भएको हो ।
३५ दिने सूचना टाँस गरेर दिइएको समयसीमा नाघेपछि महानगरले कारबाही गरेको हो ।
महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “लामो समयदेखि अनधिकृत रूपमा भौतिक संरचना थपिँदै गएपछि न्हुः पोखरीको अस्तित्व नै मेटिने अवस्था सिर्जना भएको थियो । त्यसैले सार्वजनिक जग्गा तथा ऐतिहासिक पोखरी संरक्षण गर्ने नीतिअनुसार जिर्णोद्वार तथा पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी नगर कार्यपालिकाले स्वीकृत गरेको छ ।”
सोही क्रममा पोखरीको उत्तर–पूर्व भागमा रहेको बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको अनधिकृत संरचना पनि हटाइएको हो ।
महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ र मुलुकी देवानी संहिता, २०७४ को दफा ३०४ अनुसार सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले संरचना हटाइएको स्पष्ट पारेको छ ।
Facebook Comment