बुद्धिजीवीले सरकारका राम्रा काम नदेखेको ओलीको गुनासो
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेका सकारात्मक काम पनि बुद्धिजीवीहरूले नदेखेको गुनासो गरेका छन्।
ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको तेस्रो दिन हलमा सम्बोधन गर्दै उनले लिपुलेक–लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने कुरा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदा समेत बुद्धिजीवीहरूले बेवास्ता गरेको बताए।
प्रधानमन्त्री ओलीकै सचिवालयका अनुसार, उनले सामाजिक सञ्जाल दर्ता गर्ने सरकारको निर्णयलाई वाक स्वतन्त्रता कुण्ठित गरियो भनेर तथाकथित बुद्धिजीवीहरूले भ्रम फैलाएकोमा आश्चर्य व्यक्त गरे। उनले भने, “मुलुकको सार्वभौमसत्ता र राष्ट्रियताको पक्षमा सरकारले सामाजिक सञ्जाल दर्ता गर्न भनिरहेको हो। कानुनी दायरामा नआएपछि सञ्चालनमा रोक लगाइएको हो। तर कतिपय बुद्धिजीवीहरूले वाक स्वतन्त्रताको अर्थ नै बुझेनन्।”
सो क्रममा उनले हलमा उपस्थित प्रतिनिधिहरूमाझ एउटा कथा सुनाए। उनले भने, “एउटा पुतली रस खाएर निदायो। निद्रामै उसले मान्छे भएको, डाक्टर, इन्जिनियर, ठूलो मान्छे भएको सपना देख्यो। पछि मन्त्री बन्छु भन्ने सपना देख्यो। तर, उठ्दा त फेरि पुतलीकै रूपमै थियो। अहिलेका बुद्धिजीवीहरू पनि उस्तै छन्—सरकारले गरेका राम्रा काम नदेख्ने, उल्टो नराम्रा कुरा मात्रै खोज्ने।”
Facebook Comment