ऐतिहासिक उचाइमा सुन–चाँदीको मूल्य, तोलामा सुन २ लाख १२ हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्ला दिनहरूमा लगातार उकालो लागेको सुनको मूल्य आज पुनः एकपटक ऐतिहासिक उचाइमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य तोलामा १,६०० रुपैयाँले वृद्धि भई २,१२,००० रुपैयाँ पुगेको छ। अघिल्लो साता, शुक्रबारको अन्तिम कारोबार मूल्य २,१०,४०० रुपैयाँ थियो।
यता, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाउँदै बजारमा चमक थपेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २,५०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो शुक्रबार २,४९० रुपैयाँ थियो।
हालको दर:
छापावाल सुन (प्रति तोला): रु. २,१२,०००
चाँदी (प्रति तोला): रु. २,५००
विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य वृद्धि, विदेशी मुद्रा विनिमय दरमा भएको उतारचढाव, र बजारमा उच्च मागका कारण नेपाली बजारमा पनि तीव्र वृद्धि देखिएको हो।
सुनचाँदीमा लगानी गर्न चाहने उपभोक्तालाई मूल्य स्थिर नभएसम्म सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।
Facebook Comment