हिमाल औसतभन्दा दोब्बर गतिमा तात्दै, मन्त्री ठकुरीद्वारा खुला फोहोर जलाउने प्रथामा चेतावनी

काठमाडौं । नेपालका हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेको अवस्था आएको भन्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यसले हिमनदी, जैविक विविधता र करोडौं मानिसको जीवन जोखिममा पार्न सक्ने चेतावनी दिएका छन्।

शनिवार काठमाडौंमा आयोजित दक्षिण एशियाली क्षेत्रीय संवादमा बोल्दै मन्त्री ठकुरीले खुला रूपमा फोहोर जलाउने प्रथा जलवायु संकट र प्रदूषणको एक महत्वपूर्ण, तर प्रायः बेवास्ता गरिएको विषय भएको बताएका हुन्। उनले भने, “हामी जलवायुजन्य विपद् र उच्चतम् प्रदूषणको जोखिममा पनि छौँ। खुला फोहोर जलाउने प्रथा यस संकटको एउटा प्रमुख कारण हो।”

मन्त्री ठकुरीले पेरिस सम्झौताअन्तर्गत नेपालले कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जा विस्तार गर्ने, विद्युतीय यातायात प्रवर्द्धन गर्ने र दिगो वन सुदृढ गर्ने प्रतिबद्धता जनाएको स्मरण गराए। उनका अनुसार, यी सबै प्रयास खुला फोहोर जलाउने प्रथासँग प्रत्यक्ष रूपमा जोडिएका छन्।

उनले थपे, “खुला फोहोर जलाउँदा केवल शहर र गाउँको वायु प्रदूषण मात्र बढ्दैन, ब्ल्याक कार्बन जस्ता छोटो अवधिका प्रदूषक पनि उत्सर्जित हुन्छन्, जसले हिमालको हिउँ पग्लने गतिलाई द्रुत बनाइरहेको छ। नेपालका हिमालमा यो अवस्था गम्भीर बन्दै गएको छ।”

मन्त्री ठकुरीले शुन्य फोहोर र परिचक्रीय अर्थतन्त्रको सिद्धान्त सरकारले अघि बढाइरहेको दाबी गर्दै यसबाट पारिस्थितिक प्रणाली सुधार र दिगो विकासमा सहयोग पुग्ने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *