नेपालमा युट्युब बन्द : डिजिटल अर्थतन्त्र र स्टार्टअप प्रभावित
काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको दुई दिनपछि नेपालमा युट्युब पनि बन्द गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायक संघ (आईएपान)ले युट्युबका सबै वेब पेजहरू बन्द गरेको हो।
यस बन्दसँगै युट्युबमा उपलब्ध म्युजिक भिडियो, फिल्म, वेब सिरिज, गीत–संगीत, समाचार, कमेडी लगायतका थुप्रै सामग्री प्रयोगकर्ताले हेर्न नपाउने भएका छन्।
आईएपानका अध्यक्ष सुधीर पराजुलीका अनुसार वेब ब्राउजरमा युट्युब बन्द भइसकेको छ भने मोबाइलमा क्रमिक रूपमा बन्द गर्ने प्रक्रिया जारी छ। उनले भने, “हामीले सरकारको निर्णय र दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार दर्ता नभएका सामाजिक सञ्जालको आईपी एड्रेस बन्द गर्न सुरु गरेका छौं। हिजो फेसबुक, एक्स र इन्स्टाग्राम वेब पेजमा बन्द भएका थिए भने आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ।”
पराजुलीले सामाजिक सञ्जाल बन्द गर्दा देखिएको प्राविधिक जटिलताबारे सरकारलाई पर्याप्त जानकारी नभएको बताए। उनका अनुसार, “युट्युब ब्लक गर्दा आईपी एउटै भएर जिमेल समेत प्रभावित हुन्छ र फोनको केही सेवा पनि आंशिक रूपमा काम नगर्न सक्छ। यो संवेदनशील प्राविधिक पक्ष हो जसको असर सरकारले अनुमान गर्न सकेको छैन।”
सामाजिक सञ्जाल बन्द भएपछि डिजिटल अर्थतन्त्र, स्टार्टअप, र साना व्यवसायको अनलाइन मार्केटिङ ठप्प भएको छ। कलाकारहरूले सार्वजनिक गर्न लागेको नयाँ गीत रोकिएको छ भने विभिन्न टेलिसिरियल, हास्यव्यङ्ग्य र कमेडी कार्यक्रम प्रसारण हुन सकेका छैनन्। यसले कन्टेन्ट क्रिएटर र स्टार्टअपको आम्दानीमा समेत नकारात्मक प्रभाव परेको सरोकारवालाहरूले बताएका छन्।


Facebook Comment