इन्द्रजात्रा आज : जीवित देवी कुमारीसहित रथयात्रा, भक्तजनको उल्लास
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै आज परम्परागत धुमधामका साथ इन्द्रजात्रा पर्व मनाइँदै छ। भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो ऐतिहासिक पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका सांस्कृतिक शहरमा भव्यरूपमा आयोजना गरिन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो पर्व सुरु हुन्छ। यस अवधिभर विविध नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरिन्छ। इन्द्र ध्वजलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ र यसको फेदमा भैरवको पूजा गर्ने परम्परा रहेको छ। यो पर्व शत्रुमाथि विजय र शक्तिको प्रतीकका रूपमा मनाइने विश्वास गरिन्छ।
पूर्वतयारीअन्तर्गत भक्तपुरको चितपोल जङ्गलबाट भाद्र शुक्ल द्वितीयाका दिन तान्त्रिक विधिबाट पूजित बोकाले छोएको रूख काटेर ल्याइन्छ। त्यसलाई भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक लिङ्गो तयार पारिन्छ।
आजको मुख्य आकर्षण हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा हुनेछ। विगतमा राजाले स्वयं उपस्थित भएर अवलोकन गर्ने चलन थियो भने हाल राष्ट्रपतिबाट दर्शन गर्ने प्रथा कायम गरिएको छ।
रथ तान्ने पहिलो दिन आज बिहानैदेखि रथ सजाउने तयारी सुरु भएको छ। भक्तजनहरू उल्लासपूर्वक सहभागिता जनाउँदै सांस्कृतिक पर्वलाई अझ भव्य बनाउन जुटेका छन्।
Facebook Comment