इलाममा रेडपाण्डा म्याराथन : पर्यटन र संरक्षणको नयाँ पहल
काठमाडौं । पर्यटन प्रवर्द्धन र लोपोन्मुख रेडपाण्डाको संरक्षणको उद्देश्यले इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ। अन्तरराष्ट्रिय रेडपाण्डा दिवसका अवसरमा आगामी असोज ४ गते इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्रको सन्दकपुर डाँडा सम्म म्याराथन आयोजना गरिने आयोजक दीपज्योति युवा क्लब का कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिनुभयो।
रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहयोगमा हुने प्रतियोगितामा पुरुष र महिलातर्फका धावक इलाम चोक बजार (१,१२० मिटर) बाट सन्दकपुर डाँडा (३,६१० मिटर) सम्म ४४.२ किलोमिटर दूरीमा दौडने छन्।
प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत देशभरका १०० भन्दा बढी धावक सहभागिता जनाउनेछन्। पुरुष र महिलातर्फ पहिलो हुनेले रु १ लाख ५० हजार, दोस्रोले रु १ लाख, तेस्रोले रु ५० हजार र चौथोले रु ३० हजार पुरस्कार पाउने छन्।
स्थानीय धावकका लागि पनि छुट्टै प्रतिस्पर्धा हुने र पुरुष–महिलातर्फ पहिलो हुनेले रु २५ हजार, दोस्रोले रु २० हजार, तेस्रोले रु १० हजार र चौथोले रु ५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रम निर्देशक रिमालले भने, “जिल्लाको पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन गर्न म्याराथन आयोजना गर्न लागेका हौँ। रेडपाण्डा पाइने क्षेत्रमा आयोजना गरिएको कार्यक्रमले यहाँको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिएका छौँ।”
रेडपाण्डा नेटवर्क का कार्यक्रम निर्देशक वाङ्चु भुटियाले भने, “म्याराथनमा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको सहभागिता रहनेछ। यसले लोपोन्मुख रेडपाण्डा संरक्षण र खेलकुदलाई समेत प्रवर्द्धन गर्नेछ।”
सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ ले म्याराथनको लागि रुटअन्तर्गतको सडक मर्मतको काम सुरु गरिएको जानकारी दिँदै भने, “पर्यटन प्रवर्द्धनका लागि हाम्रो पालिकामा म्याराथन आयोजना हुँदैछ। यसले सन्दकपुर गाउँपालिका र समग्र इलामको पर्यटन विकासमा सहयोग पुर्याउनेछ।”
सन्दकपुर–२ मा पर्ने सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो ठाउँ हो, जहाँ ३,६३६ मिटर उचाइबाट सूर्योदयको दृश्यावलोकनसहित नेपाल, भारत, भुटान र चीनका हिमाल देख्न सकिन्छ।
Facebook Comment