घाइते र अशक्त जनावरलाई तुरुन्त सहायता: नेपालगञ्जमा एम्बुलेन्स सेवा सुरु
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले घाइते र अशक्त जनावरको उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ।
उपमहानगरपालिकाको पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमका अनुसार दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अस्पताल वा सेल्टरसम्म पुर्याउन अब सहज हुने भएको छ। उक्त एम्बुलेन्स ‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो।
हाल नेपालगञ्जमा छाडा चौपायाका कारण सडक दुर्घटनाका घटना दोहोरिँदै आएका छन्। यसैलाई ध्यानमा राख्दै एम्बुलेन्स सञ्चालन गरिएको उपमहानगर प्रमुख प्रशान्त विष्टले बताए। उनका अनुसार, एम्बुलेन्सको अधिकतम उपयोग गर्दै पशु उद्धार र व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन सकिने विश्वास लिइएको छ।
एनिमल नेपालकी अध्यक्ष शोभा रायमाझीले दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई तत्काल उद्धार गरी उपचार र संरक्षणमा पुर्याउन सहयोग होस् भन्ने उद्देश्यले एम्बुलेन्स उपलब्ध गराइएको बताइन्।
Facebook Comment