विधान महाधिवेशनमा विद्यादेवी भण्डारीको विषय उठ्दैन : अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशनमा विद्यादेवी भण्डारीको विषयमा कुनै छलफल नहुने स्पष्ट पारेका छन्।

शुक्रबार सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले उक्त महाधिवेशनमा विधि र विधानसँग सम्बन्धित विषयमात्रै छलफल हुने बताए।

“पार्टीमा कतिपय विषयहरू अनावश्यक ढंगले संवेदनशील बनाइएका छन् वा बनेका छन्। तर ती विषय विधान संशोधनसँग सम्बन्धित छैनन्। त्यसैले महाधिवेशनमा उठ्ने कुरा होइनन्,” ओलीले भने।

यद्यपि उनले विद्यादेवी भण्डारीको नाम भने स्पष्ट रूपमा उच्चारण गरेनन्। तर, यस्ता विषय पार्टीका संरचनागत कमिटीहरूमा छलफल हुने उल्लेख गरे।
“जुन विषय विधान वा दस्तावेजसँग सम्बन्धित छैनन्, ती सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछन्,” उनले स्पष्ट पारे।

अध्यक्ष ओलीले विधान महाधिवेशनलाई विषय–केन्द्रित बनाएर अघि बढाइने पनि बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *