झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, तीन कैदीको मृत्यु, सयौँ बिरामी

काठमाडौं । सुनसरीको झुम्कास्थित कारागारमा भाइरल ज्वरो फैलिँदा सयौँ कैदीबन्दी बिरामी परेका छन् । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने लक्षण देखिएका बिरामीमध्ये तीन जनाको ज्यान गइसकेको छ ।

बुधबार मात्रै जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सप्तरी, राजविराज नगरपालिका–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । तर उपचारकै क्रममा उनको ज्यान गएको हो ।

यसअघि सोमबार सुनसरी, गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव र धरान–१० का २४ वर्षीय सागर राईको मृत्यु भइसकेको थियो । कर्तव्यज्यान मुद्दामा २५ वर्षको कैद सजाय भोगिरहेका उराँवलाई शनिबार राति श्वासप्रश्वास बिग्रिएपछि अस्पताल पुर्‍याइएको थियो भने लागुऔषध कारोबारसम्बन्धी मुद्दामा थुनामा रहेका राईलाई बान्ता र शरीर नचल्ने समस्या देखिएपछि उपचारका लागि लगिएको थियो । तर दुवै जनाको अस्पतालमै मृत्यु भएको थियो ।

तीन कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले कारागारभित्रै स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बुधबार रातिदेखि सुरु भएको शिविरमा बिहीबार बिहानसम्म ५५३ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए । उनका अनुसार उच्च ज्वरो देखिएका १९ जनालाई बीपी प्रतिष्ठान पठाइएको छ ।

जिल्ला अस्पताल इनरुवा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले संयुक्त रूपमा स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेको प्रशासनले जनाएको छ । चिकित्सकहरूले यो भाइरल ज्वरोको प्रकोप भएको निष्कर्ष निकालेका छन् ।

झुम्का कारागारमा कोशीलगायत विभिन्न जिल्लाबाट ल्याइएका १ हजार ७९४ जना कैदीबन्दी रहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *