भोजपुरका सुन्तला बगैँचामा ‘फल खस्ने रोग’, किसान चिन्तित
काठमाडौं । जिल्लामा सुन्तलाको बगैँचामा फल खस्ने रोग देखिएपछि किसानहरू समस्यामा परेका छन्। सुन्तलाका दानाका भेट्नो (स्टेम एण्ड) कुहिँदै खस्न थालेसँगै व्यावसायिक उत्पादनमा कमी आउने चिन्ता किसानलाई बढेको छ।
भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतका अनुसार पछिल्लो समयमा सुन्तलामा विभिन्न रोग देखिँदै आएको छ। “भेट्नो कुहिँदा फल झर्ने समस्या बढेको छ, यसले किसानलाई ठूलो क्षति गर्न सक्ने देखिन्छ,” उनले बताए।
३०० भन्दा बढी किसान प्रभावित
गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछला लगायतका क्षेत्रका करिब ३०० किसान सुन्तलाखेतीमा संलग्न छन्। तर रोग बढेपछि किसान उपचार र समाधानको खोजीमा छन्।
स्थानीय किसान शारदा थापाका अनुसार, बगैँचामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या व्यापक छ। “गतवर्ष मात्रै १० लाख रुपैयाँ बराबरको सुन्तला बेचेकी थिएँ, तर यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता छ,” उनले भनिन्। उनका करिब ७०० बोट सुन्तला रहेका छन्।
राज्यको ध्यान आवश्यक
भुइँमा झरेका फल काट्दा किरा नदेखिएको किसान तीर्थ प्रधानले जानकारी दिए। उनका अनुसार, रोगको वास्तविक पहिचान नहुँदा किसानहरू अन्यौलमा परेका छन्।
“रोग के हो भन्ने थाहा पाइयो भने हामी आफैंँ औषधि किनेर प्रयोग गर्न तयार छौँ। तर पहिचान नै नभएपछि बगैँचा सखाप हुने अवस्था आएको छ,” प्रधानले भने।
Facebook Comment