बेइजिङमा आयोजित विशेष सैनिक परेडमा प्रधानमन्त्री ओलीको सहभागिता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको बेइजिङमा आयोजना गरिएको विशेष सैनिक परेड कार्यक्रममा सहभागी भएका छन्। विजय उत्सवको ८० औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त समारोहमा उपस्थित राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत गरेका थिए।

परेड सकिएपछि प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा समेत सरिक भए।

प्रधानमन्त्री ओली, जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन गएका थिए। चीन भ्रमण सम्पन्न गरी उनी आजै स्वदेश फर्किँदैछन्।

उच्चस्तरीय भेटवार्ता

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न देशका शीर्ष नेताहरूसँग द्विपक्षीय वार्ता पनि गरेका थिए।
सो अवसरमा उनले रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भ्रमण टोली

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा तथा उच्चस्तरीय सरकारी अधिकारी समेत भ्रमण टोलीमा सहभागी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *