हेलिकप्टरमा उपचार खोज्न बाध्य खोटाङवासी, ‘५० शैय्या’को अस्पताल अझै रिफरल सेन्टरमै सीमित
काठमाडौं । कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले असार २२ गते तामझामका साथ खोटाङ सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताललाई ५० शैय्या क्षमता भएको भन्दै उद्घाटन गरेका थिए। उद्घाटनको दिन उनले भनेका थिए, “अब खोटाङबासीलाई उपचारका लागि हेलिकप्टर चढेर राजधानी धाउनुपर्ने छैन, विशेषज्ञ चिकित्सकसहितको सेवा यहीँ उपलब्ध हुन्छ।” तर मन्त्रीको उक्त वाचा जनताका लागि ‘कोरा सपना’ मात्र बनेको छ।
भवन छ, बेड छ, तर चिकित्सक छैनन्
दिक्तेलस्थित जिल्ला अस्पतालमा भवन र बेड छन्, केही आधारभूत उपकरण पनि छन्, तर विशेषज्ञ चिकित्सकको अभावले अस्पताल अझै उपचार केन्द्र होइन, रेफरल सेन्टरमै सीमित छ।
अस्पताल प्रमुख डा. रूपेश संग्रौलाका अनुसार वार्षिक ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन्। तर सर्जन, स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मस्तिष्क तथा मुटु सम्बन्धी चिकित्सक नभएकाले गम्भीर अवस्थामा परेका बिरामीलाई रेफर गर्नुपर्छ।
उपचार नपाएर अकालमा ज्यान
खोटाङ–१ का वेदप्रसाद आचार्य सामान्य ज्वरोका कारण भर्ना भए पनि उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको थियो। एम्बुलेन्समै लैजाँदै गर्दा बाटोमै उनको ज्यान गयो।
यस्तै, बुइपाकी २७ वर्षीया गर्भवती माइतीकला राईले पनि उपचार नपाई दिक्तेल अस्पतालमै प्राण गुमाइन्। काठमाडौं पुग्ने आर्थिक क्षमता नभएकी उनी जीवन बचाउन असमर्थ भइन्।
‘हेलिकप्टर चढ्न नसक्ने गरिबको बाटोमै मृत्यु’
हेलिकप्टर चार्टर गर्न ३ देखि ५ लाख रुपैयाँ लाग्ने भएकाले किसान परिवार आजीवन ऋणको बोझमा दबिन्छन्।
नेपाल पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राई भन्छन्, “यहाँका बासिन्दाले उपचार नपाए हेलिकप्टरमै जानुपर्छ। त्यसका लागि दराजमा ५ लाख रुपैयाँ राखेर बस्नुपर्ने बाध्यता छ। पैसाविना उपचार सम्भव छैन।”
दिक्तेल–१५ का नगेन्द्र ढकाल भन्छन्, “हामी गरिबका लागि अस्पताल नाममात्रको ठाउँ हो। धनीले हेलिकप्टर चढेर बाँच्छन्, गरिबको बाटोमै ज्यान जान्छ।”
नेताहरूको गुनासो
खोटाङबाट निर्वाचित सांसद रामकुमार राई (पासाङ) भन्छन्, “स्वास्थ्य सुविधा नहुँदा नागरिकले हेलिकप्टरमा जीवन खोज्नुपर्ने अवस्था अमानवीय हो। सरकारले तत्काल खोटाङमा स्थायी रूपमा विशेषज्ञ चिकित्सक पठाउनुपर्छ।”
एमाले खोटाङका सचिव सुरेन्द्रकुमार राईले मन्त्रीले ‘सेवा नचलेको अस्पताल’ उद्घाटन गरेर जनतालाई भ्रममा पारेको आरोप लगाए। माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डे भन्छन्, “राजधानीमा पाँचतारे अस्पताल बढ्दै गर्दा खोटाङमा नागरिक उपचार नपाएर मर्नु न्यायसंगत होइन। विशेषज्ञ आउन प्रोत्साहन भत्ता र सुरक्षाको वातावरण दिनैपर्छ।”
नगर प्रमुख तीर्थ भट्टराईका अनुसार स्थानीय सरकारको उद्धार कोष र एम्बुलेन्स सुविधा पर्याप्त छैन, संघ र प्रदेश सरकारले दिक्तेल अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा विस्तार नगरेसम्म समस्या ज्यूँका त्युँ रहनेछ।
स्थायी समाधान कहिले ?
स्वास्थ्य मन्त्रालयले वर्षौंदेखि प्रत्येक जिल्लामा विशेषज्ञ चिकित्सक पठाउने नीति घोषणा गरे पनि खोटाङमा स्थायी नियुक्ति भएको छैन। अस्थायी करारमा आउने चिकित्सक लामो समय बस्दैनन्। प्रदेश सरकारले दिक्तेल अस्पताललाई प्रदेश अस्पताल बनाउने घोषणा गरे पनि व्यवहारमा प्रगति हुन सकेको छैन।
स्थानीय चन्द्र बुढाथोकी भन्छन्, “पैसा भएका काठमाडौं पुग्छन् र बाँच्छन्। हामीजस्ता गरिबलाई अस्पतालले हेरेको छैन। राज्यले बेवास्ता गरेको महसुस भएको छ।”
उनका अनुसार संविधानले दिएको समान स्वास्थ्य सेवाको अधिकार खोटाङवासीले अझैसम्म अनुभव गर्न नसकेका छन्।
Facebook Comment