प्रतिनिधिसभाको बैठक आज बस्दै, नागरिकता विधेयकदेखि जलस्रोत विधेयकसम्म छलफलको तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार अपराह्न १ बजे, संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रहरू सभामुखले पढेर सुनाउने कार्यसूची रहेको छ।

विधेयक टेबुल र छलफल प्रस्ताव:
प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गर्नेछन्।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रिय सभाबाट गरिएका संशोधनहरू विचार गरियोस् भन्ने प्रस्ताव संसद्‍मा प्रस्तुत गर्नेछन्।

समितिको बैठक पनि आजै:
यसैबीच, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दैछ। बैठकमा समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा २०८२/८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम रहेको छ।

आजको संसद बैठकमा जलस्रोत, पशु चिकित्सा, र नागरिकता विधेयकजस्ता जनजीविकासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरू माथि छलफल हुने भएकाले बैठक राजनीतिक रूपमा मात्र नभई नीतिगत रूपमा पनि महत्त्वपूर्ण मानिएको छ। संघीयता सबलीकरणसम्बन्धी समिति बैठकले पनि आगामी वर्षको कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *