गोंगबुबाट चार करोड २५ लाख नगद र करिब १० किलो सुन बरामद, ७७ वर्षीय वृद्ध मिटरब्याज आरोपमा पक्राउ
काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध नगद तथा सुनचाँदी बरामद गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालय रानीपोखरीको संयुक्त टोलीले छापा हानेर चार करोड २५ लाख नगद, ९ किलो ८३७ ग्राम सुन, र ३ किलो २१८ ग्राम चाँदी बरामद गरेको हो।
मंगलबार साँझ घरमा छापा मारेर प्रहरीले रकम बरामद गरेपछि, बैंकबाट मेसिन मगाई गणना गर्दा यति ठूलो रकम भेटिएको एसएसपी शेखर खनालले जानकारी दिए। बरामद सम्पत्तिसहित ७७ वर्षीय विनोदकुमार श्रेष्ठ, स्थायी ठेगाना गोरखा बजार, हाल काठमाडौं महानगरपालिका–२६, गोंगबु, पक्राउ परेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा, श्रेष्ठ मिटरब्याज धन्दामा संलग्न रहेको खुलेको छ। उनी सुनका गरगहना धितो राखी अत्यधिक ब्याजमा रकम लगानी गर्दै आएको प्रहरीको दाबी छ।
एसएसपी खनाल भन्छन्, “श्रेष्ठले सुन धितोमा लिएर ब्याजमा पैसा लगाउने र अनुचित लेनदेन गर्ने गरेको प्रारम्भिक तथ्य फेला परेको छ। उक्त सम्पत्ति वैध स्रोतबाट नआएको शंका लागेकाले थप अनुसन्धान भइरहेको छ।”
सूचनाका आधारमा गरिएको कारवाहीपछि अहिले पक्राउ परेका श्रेष्ठमाथि मिटरब्याजसम्बन्धी कानुनी कारवाही अगाडि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार, अवैध रुपमा यति ठूलो नगद र बहुमूल्य धातु घरमै लुकाएर राख्नु आंशकास्पद भएकाले यस प्रकरणलाई गम्भीरताका साथ अनुसन्धान गरिँदैछ।
यो घटना मिटरब्याज तथा अवैध वित्तीय कारोबारको चपेटामा परेका व्यक्तिहरूका लागि एउटा महत्त्वपूर्ण उदाहरण बन्न सक्छ। सरकारले मिटरब्याज नियन्त्रण तथा अवैध वित्तीय क्रियाकलापविरुद्ध कडा कारबाही गर्ने नीति अघि सारेको सन्दर्भमा यस्ता गतिविधिमाथि सतर्कता र कानुनी कठोरता आवश्यक देखिन्छ।
Facebook Comment