निजी मेडिकल कलेजको सिट वृद्धि विरुद्ध डा. गोविन्द केसीको तीनदिने सत्याग्रह सुरु

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत पछिल्ला निर्णयहरूको विरोधमा तीनदिने सत्याग्रह सुरु गरेका छन्।

डा. केसीले शुक्रबार धनगढीस्थित गेटा मेडिकल कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह प्रारम्भ भएको जानकारी दिएका हुन्। उनले भने, “निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला मात्र भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन्छ। गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा गिरावट आउनु हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो।”

उनले सरकार र चिकित्सा शिक्षा आयोगका हालैका निर्णयहरूले विद्यार्थी र सर्वसाधारणलाई फाइदा नदिई शिक्षा–स्वास्थ्य प्रणालीलाई नै धरापमा पारेको आरोप लगाए। उनका अनुसार नेपालमा अझै सरकारी मेडिकल कलेज र अस्पतालहरूको विस्तार अपरिहार्य छ, तर सरकार निजी कलेजलाई पोस्नेतर्फ लागेको छ।

उदाहरण प्रस्तुत गर्दै डा. केसीले भने, “त्रिवि मेडिकल अध्ययन संस्थानले १०० विद्यार्थी मात्र पढाउन सक्ने भनी हिच्किचाइरहेको अवस्थामा, पूर्वाधार र बिरामी चाप नपुग्ने निजी कलेजलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण छ।”

सत्याग्रहसहित डा. केसीले निम्न मागहरू अघि सारेका छन् :

निजी मेडिकल कलेजको सिट वृद्धि तत्काल फिर्ता गर्नुपर्ने,

इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने,

कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने,

अघिल्ला सम्झौताअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने।

डा. केसीले यसअघि पनि यस्ता मागसहित दर्जनौँ पटक सत्याग्रह र आमरण अनशन गरेका थिए। यसपटकको सत्याग्रह पनि चिकित्सा शिक्षा सुधारमा उनले देखाएको निरन्तर प्रतिबद्धताको अर्को चरणका रूपमा हेरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *