चन्द्रागिरि–१३ बालश्रम मुक्त वडा घोषणा
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१३ बालश्रम मुक्त वडा घोषणा गरिएको छ। शुक्रबार वडाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले औपचारिक रूपमा घोषणा गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गिरीले समग्र नगरपालिकालाई नै बालश्रम मुक्त क्षेत्र घोषणा गर्ने अभियान अघि बढिरहेको बताए। उनका अनुसार अब नगरभित्र दुईवटा वडामात्र घोषणा हुन बाँकी छ।
त्यसैगरी वडा अध्यक्ष श्रीकृष्ण खत्रीले वडालाई बालश्रम मुक्त बनाउन सबै पक्षको सक्रिय सहयोग प्राप्त भएको उल्लेख गर्दै भने, “हामीले अभिमुखीकरण कार्यक्रम चलायौँ, पटक–पटक अनुगमन गर्यौँ, उद्योग–व्यवसायबाट उद्धार गरिएका तीन बालकलाई कागज प्रक्रिया पूरा गरी परिवारमा पठायौँ। बालबालिकालाई काममा नलगाउन सचेतना पनि फैलाइयो।”
चन्द्रागिरि नगरपालिकाले बालश्रम अन्त्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। नगरका अधिकांश वडाहरूलाई बालश्रम मुक्त घोषणा भइसकेको र बाँकी वडाहरू पनि चाँडै नै घोषणा हुने तयारी भइरहेको जानकारी दिइएको छ।
बालश्रम मुक्त घोषणा अघि बालबालिकाले प्लेकार्डसहित र्याली निकालेका थिए। कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडाका जनप्रतिनिधि, शिक्षा विभागका प्रमुख, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता थियो।
Facebook Comment