पर्सामा झाडापखाला र हैजाको प्रकोप: ७१२ बिरामी, ५१७ निको भए
काठमाडौं । पर्सामा पछिल्लो एक हप्तामा वीरगन्ज महानगरपालिका र पोखरिया नगरपालिकाका अस्पताल र स्वास्थ्य संस्थाहरूमा झाडापखाला र हैजाका बिरामीको संख्या ७१२ पुगेको छ। तीमध्ये ५१७ बिरामी उपचारपछि घर फर्किसकेका छन्, भने १९५ बिरामी अझै विभिन्न अस्पतालहरूमा उपचाररत छन्।
स्वास्थ्य कार्यालय पर्साले शनिबार बिहान एक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको तथ्याङ्क अनुसार, हालै मात्र ७७ नयाँ बिरामी स्वास्थ्य संस्थामा आएका छन्। यस समयमा ३३ जना बिरामी आइसियुमा, ४ जना एचडीयूमा र १५८ जना सामान्य वार्डमा उपचार गरिरहेका छन्।
पर्सामा आरडिटी परीक्षणबाट १६२ जनामा हैजा संक्रमण पुष्टि भएको छ। यस मध्य १०१ जना बिरामी उपचारपछि डिस्चार्ज वा अन्यत्र रिफर गरिएका छन् भने ६२ जना अझै विभिन्न अस्पतालहरूमा उपचार गरिरहेका छन्।
स्वास्थ्य कार्यालयका अनुसार, साउन २८ गते वीरगन्जको तराई अस्पतालमा झाडापखालाका बिरामी देखिन थालेका थिए र भदौ ५ गते पहिलोपटक हैजाको संक्रमणको पुष्टि भएको थियो। त्यसपछि स्थानीय र संघीय स्वास्थ्य निकायहरू, मधेस प्रदेश स्वास्थ्य निर्देशनालय, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ र आइएफआरसी लगायतका संस्थासँग समन्वय गरेर नियन्त्रणका लागि प्रयासहरू तीव्र बनाइएका छन्। जनचेतनामूलक अभियानमा रेडियो सन्देश, रिक्सा माइकिङ र घरदैलो अभियानहरू पनि सञ्चालन गरिएको छ।
स्वास्थ्य कार्यालयको पहलमा भदौ ७ गते वीरगन्ज महानगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीहरूको बैठकले २२ वटा टोली जनचेतना फैलाउने र ५ वटा टोली तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले गठन गरेको थियो। साथै, प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रबाट आरडिटी किट र औषधिहरू अस्पताल र स्थानीय तहमा वितरण गरिएको छ। थप किट र औषधिहरूको आपूर्ति व्यवस्थापनको लागि समन्वय भइरहेको छ। प्रकोपको कारण पत्ता लगाउन पानीका नमुनाहरू सेन्ट्रल ल्याबमा पठाइएका छन्।
Facebook Comment