शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघको एमाले कार्यालयमा धर्ना, ध्यानाकर्षण पत्र बुझाइयो
काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले बिहीबार ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।
धर्नापछि महासंघले एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षकका सरोकार सम्बोधन गर्न आग्रह गरेको हो। महासंघले सरकारसँग पटक–पटक भएका सहमति कार्यान्वयन नहुँदा दबाब दिन राजनीतिक दलका कार्यालयमा चरणबद्ध रूपमा धर्ना दिने कार्यक्रम अघि बढाएको जनाएको छ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै महासचिव पोखरेलले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षा प्रणालीलाई व्यवस्थित गर्न खोजिएको र त्यस क्रममा शिक्षकका विषयलाई पनि एमालेले प्राथमिकतामा राखेर सहजीकरण गरेको दाबी गरे। उनले सरकारसँग भएका सहमति कार्यान्वयनमा एमालेको पूर्ण प्रतिबद्धता रहेको बताउँदै, प्रतिनिधिसभाबाट छुटेका विषयहरूलाई राष्ट्रियसभाबाट समेट्ने प्रयास गर्ने आश्वासन दिए।
महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले विगतमा सरकारसँग भएको ९ बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा उत्रनु परेको बताइन्। उनले प्रस्तावित विधेयकमा शिक्षक तथा विद्यालय कर्मचारीका मुख्य मागहरू अझै समेटिएको छैन भन्दै, प्रतिनिधिसभा र राष्ट्रियसभामा संशोधनका लागि राजनीतिक दलहरूको सहयोगप्रति विश्वास व्यक्त गरिन्।
महासंघले शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पनि धर्ना दिने कार्यक्रम तय गरेको छ। यसअघि बुधबार महासंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा धर्ना दिएको थियो।
Facebook Comment