नेपाल साउथ अष्ट्रेलियासँग दोस्रो अभ्यास खेलमा पनि पराजित

काठमाडौं ।अष्ट्रेलियाको मैदानमा आज सम्पन्न दोस्रो टी–२० अभ्यास खेलमा नेपाल साउथ अष्ट्रेलियासँग ३ रनले पराजित भएको छ। यससँगै दुई खेलको अभ्यास सिरिज नेपालले लगातार हारका साथ टुंग्याएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो। नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अष्ट्रेलियाले अन्तिम बलमा पुरा गर्दै ७ विकेट गुमाएर जित हात पार्‍यो।

खेलको रोमाञ्चक अन्त्यमा साउथ अष्ट्रेलियालाई अन्तिम बलमा जितका लागि ४ रन आवश्यक थियो। सो क्रममा नेपाली कप्तान रोहित पौडेलको बलमा साउथ अष्ट्रेलियाका ब्राउनले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए।

साउथ अष्ट्रेलियाका लागि विन्टरले ३६, डी होजरङबोजेमले २८, हार्बीले २७, डी ड्रिउले २४ र एच मानिन्तीले २२ रन बनाए। बलिङतर्फ नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। नन्दन यादवले २ र रोहित पौडेलले १ विकेट लिए।

यसअघि, नेपालको ब्याटिङतर्फ भीम सार्कीले सर्वाधिक ३२ रन बनाए। ओपनर आशिफ शेखले १३ बलमा २२ रन जोडे भने दीपेन्द्र सिंह ऐरीले २६ र आरिफ शेखले २१ रनको योगदान दिए। सोमपाल कामी १८ रन र सन्दिप लामिछाने ५ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

साउथ अष्ट्रेलियाका टि ब्राउन र एच मानिन्तीले समान २–२ विकेट लिए। एम सि फेडेन र मिनिजले समान १–१ विकेट हात पारे।

नेपालले यसअघि अष्ट्रेलियाको डार्विनमा सम्पन्न टप एन्ड टी–२० सिरिजमा १० टिममध्ये आठौं स्थान हासिल गरेको थियो। नेपालले आगामी शनिबार साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेल खेल्ने कार्यक्रम छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *