भारतको महाराष्ट्रमा भवन भत्किँदा १५ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित पालघर जिल्लाको विरार क्षेत्रको विजय नगरमा रहेको एक चार तल्ले भवन भत्किँदा १५ जनाको ज्यान गएको छ।
स्थानीय प्रशासनका अनुसार भवन बुधबार राति करिब १२ बजेतिर अचानक ढलेको हो। बिहीबार थप तीन शव फेला परेपछि मृतकको संख्या १५ पुगेको पालघरकी कलेक्टर डा. इन्दु रानी जाखरले पुष्टि गरेकी छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार भवनको चौथो तलामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै थियो। सो क्रममा भवनको एक भागमा रहेका करिब १२ वटा फ्ल्याट अचानक भत्किँदा जन्मदिनमा सहभागी पाहुनासहित धेरै मानिसहरू भग्नावशेषमा पुरिएका थिए।
दुर्घटनापछि उद्धार तथा राहत कार्य जारी रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।


Facebook Comment