प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कने बाटो खोलिदिएको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कनका लागि बाटो आफूले खोलिदिएको बताएका छन्।
विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, “मैले पहिला पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष या परोक्ष रूपमा विद्यादेवीलाई पनि राजनीतिमा फर्किन ढोका खोलिदिएको छ।”
उनले संविधानले राष्ट्रपतिहरूलाई सक्रिय राजनीतिमा फर्किन रोक नलगाएको स्पष्ट पारेका छन्। प्रचण्डले भने, “हाम्रो संविधान, ऐन र कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन नपाउने वा कुनै पार्टी राजनीतिमा नआउनु पर्ने कुरा भनेको छैन।”
यसअघि नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गर्दै उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। तर प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कनु सामान्य विषय भएको बताएका छन्।
उनले भने, “विद्याजीलाई पार्टी सदस्यता नवीकरण गर्ने निर्णय केपी ओलीजीकै सहमतिमा गरिएको हो। चीन भ्रमण पनि ओलीकै सहमतिमा भएको थियो। त्यसपछि विवाद उत्पन्न भएको हो।” उनले थपे, “विद्याजी अहिले सक्रिय राजनीतिमा फर्कन चाहनु भएको छ। तर सदस्यता नपाएपछि आगामी योजना बारे म अनभिज्ञ छु।”
प्रचण्डले वर्तमान गठबन्धन सरकारको कामप्रति जनतामा आक्रोश र असन्तुष्टि रहेको पनि उल्लेख गरे। “देशको राजनीति कता जान्छ भन्नेबारे सबैको चासो हुनु स्वाभाविक हो,” उनले भने।
उनले विश्वभरका उदाहरणहरू उद्धृत गर्दै भने, “धेरै देशमा राष्ट्रपति भएपछि प्रधानमन्त्री भएका, प्रधानमन्त्री भएपछि फेरि राष्ट्रपति भएका उदाहरणहरू छन्। मेयरबाट राष्ट्रपति बन्ने उदाहरण पनि विश्वमा प्रशस्तै छन्।”
Facebook Comment