डडेल्धुरामा जिप दुर्घटना : चार जनाको मृत्यु, चार घाइते
काठमाडौं । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
से १ ज ७३८ नम्बरको जिप सडकबाट करिब ५०० मिटर तल खसेको दुर्घटनामा परी नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूमा १८ वर्षीया सुशिला विक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र ३५ वर्षीय जिप चालक रामबहादुर साउद रहेका छन्। घाइतेमध्ये सुशिला विक र चालक साउदको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटना बिहीबार बिहान करिब ९:१५ बजे भएको अनुमान गरिएको छ। दुर्घटनाको कारण अझै नखुलेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकहरूको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ।
Facebook Comment