माओवादीमाथि जनताको विश्वास नभए देश दुर्घटनामा पर्न सक्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति जनताको विश्वास घटे देश गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताले माओवादीलाई साथ नदिए मुलुक अप्ठ्यारो मोडमा पुग्ने दाबी गरे।

उनले भने, “चुरो कुरा नढाँटीकन भन्ने हो भने, माओवादीमाथि जनताको विश्वास भएन भने देश बच्दैन। ठूलो दुर्घटनामा पर्छ। अप्ठ्यारोमा जान्छ।”

प्रचण्डले माओवादी नेतृत्वको अघिल्ला सरकारहरू राम्रा काममै केन्द्रित रहेको जिकिर गर्दै नेपाली कांग्रेस र नेकपा एमालेलाई भने भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाए।

उनको भनाइमा, वर्तमान सरकार डरका कारण बनेको हो, सुशासनका लागि होइन। “माओवादीको पहिलो, दोस्रो र तेस्रो सरकार हुँदा राम्रो बाहेक केही नगरेको हो। तर अहिले बनेको सरकार त भ्रष्टाचारीलाई जोगाउन बनाइएको हो,” उनले स्पष्ट पारे।

“मैले त सदनमै खुलेर भनेको छु – यो सरकार डरबाट बनेको हो। आफू पनि फस्ने अवस्थामा पुगेपछि मिलेर सरकार बनाएका हुन्। यसबाट सुशासनको अपेक्षा गर्नु निरर्थक छ,” प्रचण्डको टिप्पणी थियो।

कार्यक्रममा उनले देशको राजनीतिक अवस्था, सुशासन र भ्रष्टाचारविरुद्ध माओवादीको भूमिका झल्किनेगरी धारणा राखे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *