संघीय निजामती सेवा विधेयक : सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा गर्ने सहमति

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा सहसचिव तहमा १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने सहमति भएको छ।

बुधबार बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको दफाबार छलफलका क्रममा यस्तो सहमति जुटेको हो। छलफलमा सहभागी सांसदहरूले सहसचिव पदमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने प्रस्ताव गरेका थिए, जसलाई समितिले स्वीकार गर्दै निर्णय गरेको हो।

यसअघि प्रतिनिधि सभाले भने सहसचिव पदलाई समावेश नगरी उपसचिव तहसम्म मात्र खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी विधेयक पारित गरेको थियो। तर विधायन समितिले प्रतिनिधिसभाको उक्त निर्णयलाई उल्टाउँदै सहसचिवमा पनि खुला प्रतिस्पर्धाका लागि मार्ग खोल्ने निर्णय गरेको हो।

विधायन समितिकी सभापति तुलसीकुमारी दाहालका अनुसार, सरकारले सुरुमा विधेयक ल्याउँदा प्रस्ताव गरेको व्यवस्था अनुसार नै सहसचिवमा खुला प्रतिस्पर्धाको व्यवस्था अघि बढाइएको हो।

यसैगरी, नायब सुब्बा (नासु) पदपूर्तिको विषयमा पनि राष्ट्रिय सभामा छलफल जारी छ। प्रतिनिधि सभाले नासु पद शतप्रतिशत खुला प्रतिस्पर्धाबाट पूर्ति हुने गरी विधेयक पठाएको छ। तर राष्ट्रिय सभाका सांसदहरूले प्रचलित व्यवस्था अनुसार आन्तरिक तथा खुला प्रतिस्पर्धा दुवै बाटो खुला राख्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

विधेयक अन्तिम रूप दिनुअघि दुवै सदनबीच सहमति जुटाउन आवश्यक हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *