काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा संशोधनको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज धर्ना दिएको छ। महासंघले पहिलो चरणको आन्दोलन अन्तर्गत सानेपास्थित पार्टी कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण पत्र पनि बुझाएको हो। धर्ना कार्यक्रम आज दिउँसो २ बजेसम्म सञ्चालन हुने बताइएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार एमालेको च्यासलस्थित कार्यालय र शुक्रबार माओवादी केन्द्रको पेरिस डाँडास्थित कार्यालयमा पनि धर्ना कार्यक्रम तय गरिएको छ।
शिक्षक महासंघले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएका सहमति अनुसारको विधेयक नआएको भन्दै विरोध जनाउँदै आएको छ। २०७५, २०७८, २०८० र २०८१–८२ सालमा सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने, साथै २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले पारित गरेका ९ बुँदे सहमति अझै कार्यान्वयन नभएकोमा महासंघले आपत्ति जनाएको छ।
महासंघको प्रमुख मागहरू यस्ता छन्:
-
अस्थायी प्रकृत्तिका शिक्षकहरूको पदपूर्ति प्रक्रिया ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा र २५ प्रतिशत खुला प्रतिस्पर्धा हुनुपर्ने।
-
स्थायी शिक्षकहरूको आवधिक बढुवाको प्रबन्ध विधेयकमा समावेश गरिनुपर्ने।
-
अस्थायी अवधिको गणना हुनुपर्ने व्यवस्था गर्नुपर्ने।
-
म्याद सकिएका अध्यापन अनुमति पत्रको नवीकरणको व्यवस्था गर्नुपर्ने।
-
शिक्षकको विभागीय कारबाही प्रणाली विगतको सहमति अनुसार बनाउनुपर्ने।
त्यसैगरी, विद्यालय कर्मचारीहरूको पद र तलब संरचना सुनिश्चित गरिनु पर्ने, बालकक्षा शिक्षकको सेवा सुविधा निश्चित हुनुपर्ने, संस्थागत विद्यालयका शिक्षकहरूको व्यवहारिक सरुवा प्रणाली निर्माण गर्नुपर्ने, र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने प्रावधानको विरोध महासंघले गरेको छ।
महासंघले शिक्षण परिषद् (Teaching Council) को स्पष्ट व्यवस्था गरिनुपर्ने र राष्ट्रिय परीक्षा बोर्डमा महासंघको प्रतिनिधित्व समावेश गरिनुपर्ने माग पनि अघि सारेको छ।
महासंघले सम्बोधन हुन बाँकी रहेका सबै विषयवस्तु सहमति अनुसार संसदीय प्रतिवेदनमा समावेश गर्न र प्रतिनिधिसभामा त्यही आधारमा विधेयक पेस गर्न सरकारसँग माग गरेको छ।
Facebook Comment