काठमाडौं । भारतीय स्पिन बलर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आइपीएल)बाट सन्यासको घोषणा गरेका छन्। ३८ वर्षीय अश्विनले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत सन्यासको घोषणा गर्दै अब विश्वका अन्य टी–२० लिगमा खेल्ने सम्भावनाको खोजी गर्ने बताएका छन्।
“आज एक विशेष दिन हो। म एक आइपीएल खेलाडीको रूपमा आफ्नो यात्राको अन्त्य गर्दैछु,” उनले लेखेका छन्, “तर यो अन्त्यसँगै नयाँ अध्याय सुरु भएको छ। अब विश्वका अन्य लिगहरूमा सहभागी हुने सम्भावनाको ढोका खुलेको छ।”
अश्विन आइपीएल इतिहासमा सर्वाधिक विकेट लिने बलरमध्ये पाँचौं स्थानमा रहेका छन्। उनले सन् २००९ मा चेन्नई सुपर किंग्सबाट आइपीएलमा डेब्यु गरेका थिए। त्यसपछि उनले राइजिङ पुणे सुपरजायन्ट, किंग्स ११ पंजाब (जहाँ उनले कप्तानी पनि गरे), दिल्ली क्यापिटल्स र पछिल्लो समय राजस्थान रोयल्सबाट खेलेका थिए।
आइपीएलमा १९० भन्दा बढी खेल खेलिसकेका अश्विनले १७० भन्दा धेरै विकेट लिएका छन्। उनले आफ्नो पोस्टमा खेलेका सबै टिम, टिमका सदस्य र बीसीसीआईलाई धन्यवाद दिँदै आफ्नो आइपीएल यात्रालाई स्मरणीय र प्रेरणादायी भएको उल्लेख गरेका छन्।
अब अश्विनले क्यारिबियन प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग, बिग ब्यास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरूमा खेल्ने सम्भावना बढेको छ। भारतीय क्रिकेटको एक अनुभवी नामको रूपमा, उनले अन्य लिगमा पनि अनुभव, रणनीति र क्षमताबाट टोलीलाई योगदान दिने अपेक्षा गरिएको छ।
Facebook Comment