काठमाडौं । रौतहटमा सुटकेसभित्र मृत अवस्थामा फेला परेकी रुबीकुमारी साहको हत्याकाण्डमा नयाँ मोड आएको छ। घटनाका मुख्य अभियुक्त भनिएका उनका पति लक्ष्मण पासवानले रुबीको हत्या गर्नुअघि खिचेको एक भिडियो सार्वजनिक भएको छ। हिन्दी भाषामा बोलिएको ९ मिनेट ३६ सेकेन्ड लामो यो भिडियोमा उनले आफूले रुबीको हत्या गरेको स्वीकार गरेका छन्।
यो भिडियोमा लक्ष्मणले रुबीको मृत्युको कारण उनकी आमा भएको आरोप लगाएका छन्। उनले रुबीकी आमाले पैसाको लोभमा राजन, राजु र राजासहितका केटाहरूसँग शारीरिक सम्बन्ध राख्न बाध्य पारेको र नुहाउँदा भिडियो खिचेर ब्ल्याकमेल गरेको जस्ता गम्भीर आरोप लगाएका छन्।
लक्ष्मणले भिडियोमा आफू र रुबीबीच कक्षा १० देखि नै प्रेम रहेको र पछि उनीहरूले सर्लाही जिल्ला अदालत र भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको बताएका छन्। तर, दुवै पक्षका परिवारले यो विवाहलाई स्वीकार नगरेपछि उनीहरू तनावमा थिए। लक्ष्मणले रुबीकी आमाले गरिब भएकाले आफूलाई नस्वीकारेको र पछि रुबीलाई भारतका शिवसागर साह नामका एक धनी युवकसँग जबर्जस्ती विवाह गराइदिएको पनि दाबी गरेका छन्।
लक्ष्मणका अनुसार रुबीलाई उनको परिवारले आफूबाट टाढा बनाएपछि दुवैले सल्लाह गरी सामूहिक आत्महत्या गर्ने योजना बनाएका थिए। भिडियोमा उनले रुबीको हत्या गरेर सुटकेसमा राखेपछि आफूले पनि शरीरमा आगो लगाएको स्वीकारेका छन्। यो घटनापछि माधवनारायण नगरपालिका-६ स्थित खेतमा जलेको अवस्थामा फेला परेका लक्ष्मणको शरीरमा ‘माई हर्ट रुबीकुमारी’ लेखिएको ट्याटु पनि भेटिएको थियो।
प्रहरीले उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी गरुडास्थित अस्पतालमा उपचार गरिरहेको छ। भिडियोमा जेल जानुभन्दा मर्नु नै राम्रो भनेका लक्ष्मणको ज्यान भने बाँचेको छ र अब उनले कानुनको सामना गर्नुपर्ने भएको छ।
यस घटनाको थप अनुसन्धान भइरहेको छ र भिडियोमा नाम लिइएका अन्य व्यक्तिहरूमाथि पनि प्रहरीको ध्यान गएको छ
Facebook Comment