नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा भने गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबारको कारोबारमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक ४.८३ अंकले बढेर २,७६६.०९ विन्दुमा पुगेर बन्द भएको हो।
यद्यपि, कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन कूल चार अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन सोमबारको पाँच अर्ब ७५ करोड रुपैयाँको कारोबारभन्दा कम हो।
मंगलबारको कारोबारमा १०१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १४९ कम्पनीको मूल्य घटेको छ। युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य भने स्थिर रह्यो, जसको प्रतिकित्ता मूल्य ४७ हजार ५०० रुपैयाँ कायम छ र २० कित्ता सेयर मात्रै किनबेच भयो।
उत्तम प्रदर्शन गर्ने कम्पनीमध्ये विकास हाइड्रोपावर अगाडि रह्यो, जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ४२ रुपैयाँ ७० पैसाले उकालो लागेको नेप्सेले जनाएको छ।
मूल्यका हिसाबले सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बिमा कम्पनीको सेयरमा देखियो। यस कम्पनीको सेयरमा ४८ करोड ९५ लाख ७८ हजार रुपैयाँको कारोबार भयो। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार २१ करोड ७१ लाख १२ हजार रुपैयाँमा सीमित रह्यो।
१३ समूहमध्ये चार समूहको परिसूचकमा गिरावट आयो। गिरावट आउने समूहहरूमा लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह समावेश छन्।
Facebook Comment