ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न युवक पक्राउ

काठमाडौं । ललितपुर, २०८२ भदौ ९ – ललितपुरमा अनलाइन जुवा (सट्टाबाजी) तथा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एक जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काठमाडौँ उपत्यका प्रहरी कार्यालयसँगको सहकार्यमा उनलाई सोमबार साँझ पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्ति सिन्धुलीको कमलामाई नगरपालिका–२, पिपलभञ्ज्याङ घर भएका २६ वर्षीय गौरव स्याङतान हुन्। उनलाई ललितपुर महानगरपालिका–४ स्थित शान्तिकुना मार्गको एक कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले स्याङतान बस्ने कोठामा तलासी गर्दा ठूलो परिमाणमा नगदसहित विभिन्न आपत्तिजनक सामग्रीहरू बरामद गरेको छ। कोठाबाट नेपाली रुपैयाँ ९१ लाख ५० हजार, नोट गन्ने मेसिन, तौल गर्ने तराजु, २१ थान मोबाइल सेट, एक थान ल्यापटप, एक थान आइप्याड, आठ थान विभिन्न बैंकका एटीएम कार्ड, मोबाइल वाइफाइ डिभाइस, र ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखिएको बोर्ड बरामद गरिएको छ।

त्यसैगरी, सोही कोठामा लुकाइराखिएको अवस्थामा गाँजा जस्तो देखिने लागुऔषध करिब १ किलो ५ सय ग्राम पनि बरामद गरिएको प्रहरीको भनाइ छ।

हाल पक्राउ परेका स्याङतानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद सामग्रीको विवरण

  1. नगद नेपाली रुपैयाँ ९१ लाख ५० हजार

  2. नोट गन्ने मेसिन – १ थान

  3. तौल गर्ने तराजु – १ थान

  4. गाँजा जस्तो देखिने लागुऔषध – १ किलो ५०० ग्राम

  5. मोबाइल सेट – २१ थान

  6. ल्यापटप – १ थान

  7. आइप्याड – १ थान

  8. एटीएम कार्ड (गौरव स्याङ्तानको नाममा) – ८ थान

  9. ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखिएको बोर्ड – १ थान

  10. टिसम फोरजी प्लस एलटीई मोबाइल वाइफाइ राउटर – १ थान

प्रहरीका अनुसार यस घटनाले अनलाइन जुवा तथा लागुऔषध कारोबारमा संलग्न समूहको गतिविधि र कार्यशैलीप्रति थप अनुसन्धानको खाँचो देखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *