नेपालले दोस्रोपटक सोभरेन क्रेडिट रेटिङको तयारी सुरु गर्‍यो

काठमाडौं । नेपालले दोस्रोपटकका लागि सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को तयारी सुरु गरेको छ। रेटिङ प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले आज अर्थ मन्त्रालयमा सरोकारवाला निकायहरूको सहभागितामा बैठक बसेको छ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेतृत्व दिँदै, नेपालले पछिल्लो एक वर्षमा हासिल गरेका प्रगतिहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न निर्देशन दिएका छन्। उनले नेपालप्रति अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको विश्वास बढ्ने किसिमको तयारी गर्नुपर्नेमा जोड दिएका थिए।

अर्थ मन्त्रालयको सचिवालयका अनुसार, बैठकमा नेपालको अर्थतन्त्र, नीति तथा कानुनी सुधार, सुशासन, राजनीतिक स्थायित्व, भौतिक पूर्वाधार (जस्तैः सडक), पर्यटन, जलविद्युत् लगायतका क्षेत्रमा भएका उपलब्धिहरूलाई रेटिङमा प्राथमिकताका साथ प्रस्तुत गर्ने विषयमा छलफल भएको थियो।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत वरिष्ठ अधिकारीहरू सहभागी थिए।

बैठकका क्रममा अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराईले हालसम्म भएको तयारीबारे जानकारी गराएका थिए।

नेपालको सोभरेन क्रेडिट रेटिङ गर्ने अन्तर्राष्ट्रिय संस्था फिच रेटिङ्सले अवस्था अवलोकन गर्न चाँडै नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको छ। गत वर्ष फिचले नेपाललाई ‘BB-’ (बिबी माइनस) श्रेणीको मूल्यांकन दिएको थियो, जुन स्थिर दृष्टिकोण (Stable Outlook) सहितको श्रेणी हो।

सरकारले यसपटकको मूल्यांकनलाई थप सकारात्मक बनाउने गरी योजनाबद्ध रूपमा तयारी अगाडि बढाएको जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *